२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
प्रगतिशील सांस्कृतिक आन्दोलनको कार्यनैतिक प्रश्न ः धर्मशास्त्रीय मान्यताका विरुद्ध प्रकृति पूजा ?
–प्रकाश थापा मगर
विषय प्रवेश
प्रगतिशील तथा वामपन्थी शक्तिहरूले आफ्नो राज्यसत्ता स्थापनाका लागि सङ्घर्ष गर्दै गर्दा प्रतिक्रियावादी संस्कार, संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पर्ने हुन्छ । त्यसका लागि सर्वप्रथम त आफ्नो देशको संस्कृतिको चरित्रका बारेमा गहन छानबिन गर्नु पर्ने हुन्छ । त्यस अनुरूप संस्कृतिको क्षेत्रमा सङ्घर्षको दिशा निर्धारण सकिने छ ।
यो लेखमा नेपालका संस्कार, संस्कृतिको साङ्गोपाङ्गो छानबिन गर्नु सम्भव नहोला । त्यसका लागि बेग्लै प्रयासको आवश्यकता पर्ने छ । यहाँ संस्कार, संस्कृतिमध्ये पनि चाडपर्वको प्लट उठाएको छ । चाडपर्वमध्ये पनि नेपालमा धुमधामसित र स्वयं राज्यपक्षको समेत संलग्नता रहने दशैँ र तिहारलाई प्रतिनिधि चाडपर्वको रूपमा लिइएको छ ।
उपरी रूपमा हेर्दा दशैँ–तिहार मनाइने प्रचलनको चर्चा अनावश्यक लाग्न सक्ला । तर यी चाडपर्वको समाज शास्त्रीय छानबिन गर्दै जाने हो भने स्वयं हिन्दू धार्मिक परम्पराभित्र पनि युगगत भिन्नता देखा पर्नेछन् । खास गरी ऐतिहासिक भौतिकवादी युग अनुसार दासयुग र सामन्ती युगका संस्कृतिको प्रतिबिम्ब पत्ता लगाउन सकिने छ । त्यस्तै, स्वयं हिन्दू धार्मिक ग्रन्थ अनुसार पनि द्वापर र त्रेतायुगका बेग्ला–बेग्लैै प्रतिबिम्ब भेट्न सकिने छ । दक्षिणबाट हिन्दू धर्मको आक्रमण पूर्व नेपालको आफ्नै मौलिक संस्कार, संस्कृति विद्यमान रहेको समाज शास्त्रीय मान्यता छ । त्यस अनुसार हिन्दू धार्मिक आक्रमण पूर्व यहाँ प्रकृति पूजाजन्य संस्कार, संस्कृति हावी रहेको मान्न सकिन्छ । प्रकृति पूजाजन्य संस्कार, संस्कृतिको निरन्तरता अझैसम्म पनि विद्यमान रहेको छ ।
हिन्दू धर्मले सांस्कृतिक रूपमा भारतीय विस्तारवादी अस्त्रको काम गरी रहेको वास्तविकताबीच यस लेखमा प्रगतिशील सांस्कृतिक आन्दोलनको एउटा कार्यनीतिक सवालबारे विवेचना गर्नु आवश्यक कर्म नै मानिने छ ।
दृष्टिकोणको प्रश्न
चाडपर्वका पछाडि लामो परम्परा हुन्छ । तिनीहरू विभिन्न समयका विभिन्न गति तथा परिघटनालाई प्र्रतिबिम्बित गर्दै हालसम्म चली आएका छन् । त्यस क्रममा चाडपर्वमा कतिपय प्रतिबिम्ब समाप्त भएका छन्; कतिपय धमिलो भएका छन् भने कतिपय नयाँ प्रतिबिम्ब सामेल भएका छन् । चाडपर्वमा भएका यस खालका परिवर्तनलाई कसरी हेर्ने, बुझ्ने ? यो दृष्टिकोणको प्रश्न हो । 
चाडपर्वको आवरणमा ईश्वरजन्य रूप प्रशस्त देखिन्छन् । तर त्यो मात्र त्यसको सार पक्ष होइन भन्ने प्रष्ट छ । चाडपर्वको विश्लेषण गर्दै जाने हो भने त्यसका दुई वटा पक्ष प्रष्ट रूपमा अगाडि आउँछन् । ती हुन्– एक, उत्पादन सम्बन्धजन्य विशेषता (इतिहासमा त्यसमा युद्धजन्य विशेषता पनि जोडिएको पाइन्छ), अर्काे, ईश्वरजन्य विशेषता । यसै आधारमा दुई वटा दृष्टिकोण पनि प्रकट हुन्छन् । जसले चाडपर्वमा उत्पादन सम्बन्धजन्य विशेषताको खोजी गर्दछ, त्यो कार्य भौतिकवादी दृष्टिकोणको आधारमा गरिएको हुन्छ भने अर्कातिर, जसले चाडपर्वहरूलाई शास्त्रसम्मत ढङ्गले विवेचना गर्दछन्, उनीहरू आदर्शवादी हुन् । उनीहरूले आदर्शवादी दृष्टिकोणको आधारमा नै चाडपर्वलाई विश्लेषण गरेका हुन्छन् । 
प्रगतिशील वा प्रगतिवादी अनुसन्धानकर्ताहरूले चाडपर्वको विश्लेषण गर्दा भौतिकवादी दृष्टिकोणको आधारमा गर्दछन् । त्यसको अर्थ हो– चाडपर्व कुन उत्पादन सम्बन्धको समयमा जन्मिए ? प्रारम्भिक रूपमा ती चाडपर्वले ठोस रूपमा कुन समयको प्रतिनिधित्व गर्दछन् र हालसम्म आउँदा ती चाडपर्वमा उत्पादन सम्बन्धजन्य विशेषता बाँकी छन् कि छैनन् ? यदि छन् भने चाडपर्वका कुन संस्कार, संस्कृति र क्रियाकलाप त्यसमा अभिव्यक्त भएका छन् ? यी प्रश्नहरूको उत्तर खोज्नु । जब यी प्रश्नहरूको उत्तर भौतिकवादी दृष्टिकोणबाट खोजिन्छ, तब चाडपर्वको तत्वविन्यास कार्य सम्पन्न हुन जान्छ । त्यतिखेर चाडपर्वका कुन संस्कार, संस्कृति उत्पादन सम्बन्धजन्य छन् र कुन ईश्वरजन्य भन्ने प्रश्नको उत्तर मिल्ने छ । त्यसपछि अहिले जसरी चाडपर्वलाई ईश्वरीय आवरणमा चुर्लुम्म डुबाइएको छ, त्यसको चिरफार हुने छ । त्यसका साथै संस्कार, संस्कृतिको प्रगतिशील रूपान्तरणको दिशामा कार्यनैतिक चरणको महत्वपूर्ण आधार पनि तयार हुने छ । त्यस कारण चाडपर्वका बारेमा खोज–अनुसन्धान वा छानबिन गर्दै गर्दा भौतिकवादी दृष्टिकोणका साथ प्रारम्भिक रूपमा, प्राकृतिक रूपमा र तत्कालको स्वाभाविक रूपमा चाडपर्वको सारतत्व उट्घाटन गर्न पनि सफलता मिल्ने छ ।
चाडपर्व मनाउने प्रचलित तरिका
विषयवस्तुको छानबिन सुरु गरौँ ‘सामान्य’ बाट अर्थात् हामी पहिले चाडपर्व कहाँ, कसरी मनाइन्छन् ? ती ‘सामान्य’ तथ्यबाट सुरुवात गरौँ । त्यस क्रममा हामीलाई महत्वपूर्ण तथ्यहरू हात लाग्नेछन् ।
दशैँ, बडादशैँ, विजयादशमी
दशैँ, बडादशैँ, विजयादशमी शब्दावली जे प्रयोग गरिए पनि यो पूर्वी भूगोलमा मनाइने हिन्दू धर्मावलम्बीको चाडपर्व हो । मूलतः यो चाडपर्व पूर्वी भूगोलका भारत, नेपाल, पाकिस्तान, बङ्गलादेश, म्यान्मार, श्रीलङ्का, भुटानमा धुमधामसित मनाइन्छ भने विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले यसलाई मनाउने गर्दछन् । त्यसमध्ये भारत वास्तवमै हिन्दूस्थान हो भने नेपाल भारतको हिन्दू धार्मिक प्रभाव क्षेत्र हो । नेपालको तात्कालिक वास्तविकता यही हो । यी क्षेत्रलाई हिन्दूस्थान भनिए पनि यस क्षेत्रमा दशैँ भारतकै तरिकाले मनाइदैन । स्थान विशेष अनुसार दशैँ मनाउने बेग्ला–बेग्लै प्रचलन विश्वभरि प्रचलित छन् । त्यही स्थिति नेपालको पनि छ ।
नेपालमा दशैँ मनाउने परम्परा मूलतः दुई प्रकारका छन् । एकथरिले हिन्दू धर्मशास्त्रसम्मत ढङ्गले दशैँ मनाउँछन् । जस्तै– यस मतका मुख्यतः पक्षधरले दशैँलाई रामको रावणमाथिको विजयसित जोड्छन्, यद्यपि यो पनि हिन्दू धार्मिक प्रचलन नै हो । रावणको बुख्याँचा दहन गरी सम्पन्न गरिने यस्तो परम्परा दक्षिणी भूभागमा बढी प्रचलित छ । पहाडतर्फ यस्तो प्रचलन अझैसम्म पनि त्यति व्यापक बनी सकेको छैन । अर्काथरिले दशैँलाई दुर्गा भगवतिले महिषासुर राक्षसको वध गरेको किंवदन्तीसित जोड्छन् । खास गरी यस्तो मान्यताका साथ पहाडतिर दशैँ मनाइछ । पहिलो मान्यतामा रामकालीन प्रतिबिम्ब भेट्याउन सकिन्छ । पछिल्लो समयमा यस मतका पक्षधरमाझ वली प्रथामाथि रोक लगाउन थालिएको अवस्था छ । दोस्रो प्रचलनमा पनि सुर–असुर युद्धको किंवदन्तीले प्रवेश पाएको छ । तर यहाँ वली प्रथाले प्रवेश पाएको छ । दशैँको सामान्य विश्लेषण गर्दा नेपालमा वली प्रथाले व्यापकता पाएको देख्न सकिन्छ । भारतमा भने वली प्रथालाई नियन्त्रण र अन्ततः त्यसलाई समाप्त पार्न खोजिएको छ । यथार्थमा दशैँसम्बन्धी यी दुई प्रचलन हिन्दू धार्मिक युगको अन्तरको नै प्रतिबिम्ब हो ।
तिहारको प्रसङ्ग
तिहारको इतिहासका बारेमा पनि यस्तै खालका मतभिन्नता पाउन सकिन्छ । एकथरिले रामको रावणमाथि विजय गरेपछि हर्षाेल्लासस्वरूप दिपावली मनाइएको र त्यही रूपमा तिहारको प्रचलन सुरु भएको भन्ने मत प्रकट गरेको पाइन्छ । अर्काथरिले भने तिहारलाई नेपालका भुरेटाकुरे राजाहरूको विजय वा उनीहरूको जिउधनको रक्षाको प्रसङ्गसित समेत जोडिएको पाइन्छ । तर यी दुवै पक्षका बीचमा भाइटिकासम्बन्धी संस्कारबारे भने त्यति विरोधी धारणा पाउन सकिन्न । तर भाइटीका कसरी सुरु भयो भन्नेबारेमा भने नेपालमा आफ्नै प्रकारका किंवदन्तीहरू प्रचलित छन् । त्यसै गरी तिहारको सन्दर्भमा खेलिने भैलो र देउसिरेका बारेमा पनि नेपालमा बेग्लै किंवदन्ती प्रचलित छन् । 
तिहार अन्तर्गतका पाँच दिनको सम्बन्ध यमराजले आफ्नी बहिनी यमुनाकहाँ बसेकोसित जोडिएको छ । भैलोका बारेमा नेपालको जनजातिहरूमा आफ्ना गणराजाको आयु लम्बिएको किंवदन्तीसित जोड्ने गरेको पाइन्छ । कालले मृत्युको भविष्यवाणी गरेको, तर मृत्यु नभएपछि ‘थाइलो’ शब्द प्रयोग गरी खुशी मनाएको, कालान्तरमा ‘थाइलो’ शब्द अप्रभंश भएर ‘भैलो’ भएको उनीहरूमाझ किंवदन्ती छ । त्यस्तै, अयोध्यामा तत्कालीन राजा श्रीरामको विजयपछिको आगमनबाट खुशी भएर जनताले दिपावलीको रातमा ‘देव श्री राम’ (राम हाम्रा देउता हन्) भन्दै हिडेको किंवदन्ती प्रचलित छ । कालान्तरमा ‘देव श्री राम’ बाट ‘देउसिरी राम’ हुँदै अन्ततः ‘देउसिरे’ वा ‘देउसी’ भएको बताइन्छ ।
भारतमा दशैँका विभिन्न रूप 
मूलतः हिन्दू धर्मावलम्बीभित्र पनि दशैँ–तिहार मनाउने प्रचलनमा प्रशस्त विभिन्नता पाइन्छ । केही प्रतिनिधि उदाहरणहरू यहाँ प्रस्तुत गरौँ ।
– भारतको पंजाबमा दशैँको नौ दिनसम्म उपवास राखिन्छ ।
– बस्तरमा दशैँको पछाडि रामको रावणमाथिको विजयलाई श्रोत–सन्दर्भ मानिदैन । त्यहाँ दन्त्यश्वरी माताप्रतिको समर्थनका रूपमा दशैँलाई लिइन्छ । दन्त्येश्वरी मातालाई बस्तर अञ्चलको आराध्य देव मान्दै दशैँलाई दुर्गा माताको पर्वको रूपमा मनाइन्छ । त्यहाँ यो पर्व लगातार ७५ दिनसम्म मनाइन्छ ।
– पश्चिम बङ्गालमा दशैँ पाँच दिनसम्म मनाइन्छ । दशमीका दिन विशेष पूजा गरी प्रसाद वितरण गरिन्छ । त्यति बेला पुरुषहरू आपसमा आलिङ्गन गर्दछन् । त्यसलाई कोलाकुली भनिन्छ । महिलाहरूले पनि देवीलाई सिन्दुर चढाउँदै आँशुु झार्दै बिदाइ दिन्छन् । उनीहरू आपसमा पनि सिन्दुर लगाउँछन् र सिन्दुर जात्रा गर्छन् । त्यति बेला नीलकण्ठ पङ्क्षीको दर्शन गर्नुलाई शुभ मानिन्छ ।
– तमिलनाडु, आन्ध्र प्रदश एवं कर्नाटकमा नौ दिनसम्म दशैँ मनाइन्छ । त्यस क्रममा त्यहाँ लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । मैसुरमा मैसुर महललाई झिलिमिली बत्तीहरूले सजाइन्छ । त्यहाँ मानिसहरू टर्चलाइट बाल्दै रातभरि नाचगान गर्दछन् । तर यी प्रदेशहरूमा रावण दहन गरिदैन । ती प्रदेशहरू द्रविड मूलको भएकाले रावण दहन नगरेको मान्न सकिन्छ ।
– गुजरातमा दशैँको अवसरमा गरबा नृत्य प्रशिद्ध छ । त्यसले गर्दा यो पर्व त्यहाँ सङ्गीतमय बन्न पुग्दछ ।
– महाराष्ट्रमा दशैँको अवसरमा सिलङ्गण नामक महोत्सवको आयोजना गरिन्छ । उक्त पर्वमा साँझतिर सबै मानिसहरू नयाँ कपडा लगाएर गाउँको सिमाना पार गर्दै शमीको पात लिएर आफ्नो गाउँ फर्किन्छन् । ती पातलाई सुन मानेर गाउँलेहरू आपसमा ती पातहरू आदानप्रदान गर्दछन् । 
– कश्मीरमा नौ दिनसम्म उपवास गरिन्छ । त्यस क्रममा उनीहरू माता खिर भवानीको पूजा गर्दछन् । त्यो मन्दिर तालको बीच भागमा बनेको छ । भनिन्छ, देवीले भक्तहरूसित भनेकी थिइन्– जब कुनै अनर्थको सम्भावना हुन्छ, तालको पानी कालो हुने छ । विश्वास गरिन्छ– इन्दिरा गान्धीको हत्याको ठिक एक दिन अघि र भारत–पाकिस्तान युद्ध अघि तालको पानी कालो भएको थियो ।
तिहार मनाउने विभिन्न रूप
दशैँ जस्तै तिहार मनाउने सवालमा पनि विविधता पाउन सकिन्छ । तिहार शब्द हिन्दी शब्द ‘त्यौहार’ को अप्रभंशबाट बनेको मानिन्छ । तिहारको एउटा अङ्गको रूपमा रहेको दिपावलीलाई हिन्दू धर्मावलम्बीले विजयोल्लासको रूपमा लिएको पाइन्छ । तिहारका बारेमा एकातिर, रामको अयोध्या प्रवेशको अवसरमा विजयोल्लास र अर्कातिर, सूर्यका छोरा भनिएका यमराजी बहिनी यमुनाको निमन्त्रणामा उनको घरमा पाँच दिन बिताइएको प्रसङ्गबारेमाथि नै उल्लेख गरी सकिएको छ । तर पूर्वी भूगोलमा यो पर्वले उत्पादन सम्बन्धजन्य प्रतिबिम्बलाई पृष्ठभूमिमा त पार्दछ नै, त्यसका साथै यसले हिन्दू धर्मको सीमा समेत पार गर्दछ । त्यसका साथै स्वयं हिन्दू धर्मसम्मत समयका बारेमा पनि तिहारले अतिक्रमण गर्दछ अर्थात् दिपावली भिन्न भिन्न समयको बेग्ला–बेग्लै प्रतिबिम्बका रूपमा हाम्रा अगाडि देखा पर्दछ । यी केही उदाहरणहरूमाथि विचार गरौँ ।
– हिरण्यकश्यपुको वध यसै दिन विष्णु भगवानद्वारा गरिएको मानिन्छ । 
– यसै दिन समुद्र मन्थनपछि लक्ष्मी र धनवन्तरि प्रकट भएको विश्वास गरिन्छ ।
– जैन धर्मावलम्बी मत अनुसार यस्तै दिन चौबिसौँ महावीर तीर्थकरको मृत्यु भएको थियो । 
– यसै दिन नेपालमा नेपाल सम्वत् सुरु हुन्छ । 
– मुगल वंशका अन्तिम सम्राट बहादुर शाह जफर दिपावली मनाउँथे । दिपावलीका कार्यक्रममा उनी नियमित भाग लिन्थे ।
– शाह आलम द्वितीयको समयमा शाही महललाई तिहारको अवसरमा सजाइन्थ्यो । लालकिल्लामा आयोजित तिहारको कार्यक्रममा हिन्दू–मुसलमान दूवै धर्मावलम्बी भाग लिन्थे । 
– पंजाबमा जन्मिएका स्वामी रामातीर्थको जन्म र मृत्यु यसै दिन भएको थियो । 
– महर्षि दयानन्दको यसै दिन राजस्थान (भारत) को अजमेरमा निधन भएको थियो । 
– दीन–ए–इलाहीका प्रवर्तक मानिएका सम्राट अकवरको शासन कालमा राजकोष भन्डार अगाडि ४० गज अग्लो बाँसको एउटा आकासद्वीप तिहारकै दिन लगाइन्थ्यो । (यहाँनेर स्मरणीय छ, यस्तै खालको आकाशद्वीपको प्रचलन नेपालका नेवारहरूमा पनि छ)
– वादशाह जहाङ्गिर पनि धुमधामका साथ तिहार मनाउथे । 
त्यसो त दिपावलीकै दिन अन्य महत्वपूर्ण दिवस पर्नु नयाँ विषय होइन । तर तिहारको दिन हिन्दू धर्मभन्दा बाहिरबाट पनि महत्वपूर्ण दिवस पर्दा यो चाड बेग्लै प्रकारको अथवा सम्मिलित चरित्रयुक्त बन्न जान्छ । यसरी यो चाड हिन्दूका साथै अन्य धर्म र सम्प्रदायको पनि पर्व बन्न पुग्दछ । नेपालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन पर्नु, नेवारहरूको आकाशेबत्ति यसै पर्वमा राखिनु, साना साना राजाहरूका कैयौँ महत्वपूर्ण दिवसहरू यही दिन पर्नुले तिहारलाई नेपालमा पनि समावेशी बनाएकै छन् ।
नेपालमा दशैँ–तिहार
एक पटक फेरि नेपालमा मनाइने दशैँ–तिहारका केही विशेषताबारे चर्चा गरौँ ।
तराई–मधेश र पहाडमा बेग्ला–बेग्लै प्रकारका दशैँ मनाउने प्रचलनहरू प्रचलित छन् । एक छिनका लागि तराई–मधेशको प्रसङ्गलाई स्थगित गरौँ ।
पहाडमा जुन मङ्गोल मूलका जातिहरूको बसोबास थियो, दक्षिणबाट हिन्दू धर्मको प्रभावपूर्व कुन खालको संस्कार, संस्कृति थियो ? त्यसबारे हामीसँग त्यति धेरै तथ्यहरू छैनन् । त्यसै गरी, पश्चिमबाट नेपाल प्रवेश गरेका खस–आर्यहरूमा दक्षिणको हिन्दू धार्मिक प्रभाव पूर्व कस्ता संस्कार, संस्कृति थिए ? त्यसबारे पनि हामीलाई त्यति धेरै जानकारी छैन । तर एउटा तथ्य सत्य हो– दक्षिणबाट हिन्दू धर्मको प्रभाव पर्नु अघि नेपालमा शास्त्रसम्मत संस्कार, संस्कृतिको प्रभाव अत्यन्त कमजोर थियो । त्यसको स्थानमा नेपालमा कविला प्रकृतिको, प्राकृतिक, प्रकृति पूजाजन्य संस्कार, संस्कृति विद्यमान थियो । जब दक्षिणबाट हिन्दू धार्मिक शास्त्रसम्मत संस्कार, संस्कृति नेपालतर्फ फैलियो, त्यति बेला यहाँ सामन्ती सामाजिक अवस्था थियो । शासक वर्गले दक्षिणका हिन्दू र मुश्लिम राजाहरूसित सम्बन्ध बढाएका थिए । सोही क्रममा शासकहरूले हिन्दू संस्कार, संस्कृति अपनाएर त्यसलाई जनस्तरमा लागु गर्न थालेका थिए । तर जनताले परम्परागत रूपमा मान्दै आएका कविलाजन्य संस्कार, संस्कृतिलाई पनि छोड्न सकेका थिएनन् । फलस्वरूप नेपालका दशैँ–तिहार लगायत चाडपर्वमा प्रकृति पूजाजन्य अवशेषहरू कायमै रहे र त्यसको अवशेष अहिलेसम्म पनि कायमै छन् ।
दशैँ–तिहारमा शस्त्रपूजा, पशु सम्मान र स्वयं मनुष्यप्रतिको सम्मान (नेवारहरूको म्यहःपूजा) सित सम्बन्धित जुन संस्कार, संस्कृति हालसम्म विद्यमान छन्, ती कविलाजन्य संस्कार, संस्कृतिकै अवशेष हुन् । वली प्रथालाई प्रकृति पूजाको अभिन्न अङ्ग मान्न सकिन्छ (यद्यपि ऋग्वेद कालसम्म हिन्दू धर्ममा पनि प्रकृति पूजाको प्रशस्त प्रभाव भएको देख्न सकिन्छ), जसलाईपछि हिन्दू धर्मशास्त्रले शास्त्रसम्मत रूप दिदै हटाएको देखिन्छ । दशैँको सन्दर्भमा आठौँ दिनमा गरिने वली, पहाडमा त्यसका लागि कोतघरको अस्तित्वलाई शस्त्रपूजा वा प्रकृति पूजाकै अङ्ग मान्न सकिन्छ । दैनिक जीवनमा आई पर्ने विभिन्न समस्याप्रति समाधानको अपेक्षा राखेर कसैको पूजा गर्नु प्रकृति पूजा हो । यहाँ जसको पूजा गरिन्छ, त्यसलाई देवताको रूप दिइन्छ । यहाँ उल्लेखनीय तथ्य यो छ– कविलाहरूले जसलाई देवता मान्छन्, तिनीहरू कुनै अलौकिक वा शास्त्रसम्मत वस्तु नभएर भौतिक वस्तु नै हुन्छन् । यहाँसम्म कि स्वयं मनुष्यको शरीरलाई पनि देवता मानी पूजा गरिन्छ, जस्तै– म्यहःपूजा । पिछडिएको उत्पादन सम्बन्ध भएका स्थानमा अहिलेसम्म ठुला ठुला ढुङ्गा, रुख, पहाड, झरना आदिलाई पनि देवताको रूपमा पुज्ने प्रचलन कायमै छ । दशैँको सन्दर्भमा पहाडमा कोतघरमा दिइने वलीलाई त्यही रूपमा लिन सकिन्छ । त्यस्तै, दशैँका बेला जमराको प्रयोगलाई अन्नप्रतिको लगावलाई र हतियारको पूजालाई शस्त्रपूजा तथा प्रकृति पूजा मान्न सकिन्छ । तिहारमा काग, कुकुर, गाई÷गोरु जस्ता पशुपङ्क्षीहरूको पूजालाई पनि प्रकृति पूजा नै मान्न सकिन्छ । त्यसै गरी नेपाल (र, भारतका पनि) का विभिन्न जातिहरूमा पशुपङ्क्षी पूजाको रूपमा प्रकृति पूजाका विभिन्न रूपहरू देख्न सकिन्छ ।
चाडपर्वको भौतिकवादी सन्दर्भ
माथि उदाहरणका रूपमा दशैँ–तिहारको र त्यसलाई मनाइने विविधताका बारेमा जुन चर्चा गरियो, त्यसका आधारमा यी चाडपर्वका पछाडि यी निम्न लिखित सन्दर्भहरूलाई जोड्न सकिन्छ । ती हुन्– १. कृषि या पशुपालन युगको अवशेष, २. युद्ध तयारीको प्रतिबिम्ब, ३. हिन्दू धार्मिक विविध मिथक, ४. प्रकृति पूजाको अवशेष ।
१. कृषि या पशुपालन युगको अवशेष
पहिले दशैँ चैत्रमा मनाइन्थ्यो,पछि त्यसलाई वर्षा ऋतुपछि सारियो । चैत्र महिना गहुँ र चैतेधान स्याहार्ने, तर हरियाली कम हुने महिना थियो । पूर्वी विश्व भूगोलमा, खासगरी सिन्धु नदी वरिपरि अझैसम्म पनि गहुँ र धान महत्वपूर्ण बाली मानिन्छ । मकै युरोपबाट अझै यस भूगोलमा भित्री सकेको थिएन । वर्षा ऋतु समाप्त भएको र खेतैभरि धानका बाला झुलेको र कतैकतै धान पाकी सकेको अवस्थामा यो पर्व राखियो । यस बेला किसानहरूका लागि खुशीको समय थियो ।
त्यसै गरी प्राचीन कालमा खेतीपातीको काम सामूहिक रूपमा गरिन्थ्यो । एउटा निश्चित भूगोलका मानिसहरू बेग्ला–बेग्लै स्वामित्व भए पनि सबैका बालीनाली सँगै स्याहार्थे । त्यस क्रममा उनीहरू सँगै काम गर्दथे, सँगै खर्च र मनोरञ्जन पनि गर्दथे । सामूहिक कृषि क्रियाकलापको यो खुशीयाली परिघटना अन्ततः दशैँ वा तिहारको रूपमा विस्तार वा निरन्तरता पाएको मान्नका लागि पर्याप्त आधारहरू छन् ।
२. युद्ध तयारीको प्रतिबिम्ब
तत्कालीन समाज कबिला प्रकृतिको थियो । त्यति बेला प्रत्येक कबिलाको अर्को कुनै न कुनै कबिलासित युद्ध भई रहन्थ्यो । युद्धका लागि वर्षा ऋतुपछि या खेतीपाती स्याहारेपछि नै तयारी गर्न सकिन्थ्यो । त्यसरी मूलतः त्यति बेला युद्ध हिउँद याममा नै हुने गर्दथ्यो ।
दशैँ र तिहारका बेलामा जुन शस्त्र र पशुको पूजा गरिन्छ, त्यसको सम्बन्ध युद्धको तयारीसित भएको मान्नमा कठिनाइ छैन । पहाडका कोतघर युद्धका हतियार राख्ने स्थल हुन् । त्यहाँ दशैँमा हुने वली तिनै हतियारहरूको पूजा हो । दशैँका बेला ती हतियारहरू सफा गरिन्छ, धार लगाइन्छ । यही बेला निराजन र लोहाभिसार जस्ता युद्धका लागि घोडालाई तयार पार्ने संस्कार पनि जोडिएका छन् । त्यति बेला पशुपङ्क्षीको प्रयोग कृषि र युद्धका लागि गरिन्थ्यो । त्यसैले दशैँ–तिहारमा शस्त्रका साथै पशुपङ्क्षीको पनि पूजा गर्ने चलन सुरु भएको हुनुपर्दछ । यही कारणले गर्दा घोडा, गोरु÷गाई, काग, कुकुर जस्ता पशुपङ्क्षीको पूजा सुरु गरिएको हुनुपर्दछ । समय बित्दै जाँदा अर्थात् सामन्तवादको पतनसँगै घोडाको प्रचलन कम भएर गयो । सामन्ती युगमा जिम्मेवाल, मुखिया जस्ता सम्भ्रान्त तप्कासम्म घोडाको सवारी सामान्य आवश्यकता मानिन्थ्यो ।पछि एकातिर, घोडा आर्थिक रूपमा खर्चिलो भएपछि र अर्कातिर, मोटरबाटो खुलेपछि घोडाको उपयोगिता कम भएर गयो । त्यसका साथै दशैँको अवसरमा निराजन र लोहाभिसार जस्ता कर्महरू दुर्लभ मानिन थालेका छन् ।
दशैँ–तिहार जस्ता पर्वमा शस्त्र र पशुपङ्क्षीको पूजा गरिएपछि र दशैँ र तिहारबीचको एक महिना हर्षोल्लासका साथ व्यतित गरेपछि समाजका युवा तप्का युद्धका लागि तम्तयार रहेको मानिन्थ्यो । आवश्यकता अनुसार युद्धको आह्वान भएपछि युद्ध सरदारको निर्देशनमा पुरै कबिला युद्धमा होमिन्थ्यो । यी सबैको अवशेष वा प्रतिबिम्ब अझैसम्म पनि कायम छ । दशैँ–तिहारमा त्यसको प्रतिबिम्ब पाउन सकिन्छ ।
३. हिन्दू धार्मिक विविध मिथक
सामन्ती कालमा धर्मको विस्तार तीव्र थियो । तर त्यस क्रममा धर्मको शास्त्रसम्मत रूप पनि धमिलो हुँदै गयो । उदाहरणका लागि हिन्दू धर्मकै प्रसङ्ग लिऊँ । यस धर्मको विस्तारको क्रममा विभिन्न पन्थ वा सम्प्रदायहरूको विकास भयो । कुनै एक खास ऋषिमुनिको पहलमा धर्मको एक हाँगा समातेर वा कुनै एकाध मतप्रति विमति राखेर यस खालका पन्थ, सम्प्रदाय बने । यिनै सम्प्रदाय वा पन्थले पनि दशैँ–तिहारको परम्परामा केही फेरबदल गरे । फलस्वरूपमा एउटै चाडपर्वको सन्दर्भमा पनि भिन्न भिन्न मिथकहरू जोडिएको हामी पाउन सक्छौँ । जस्तै– दशैँका बारेमा हिन्दू धर्मावलम्बीमाझ मूलतः दुई भिन्न मिथक पाइन्छन् ।
एकथरिले भगवान रामको लङ्का विजयको रूपमा दशैँलाई लिन्छन् । जसले यस मतलाई स्वीकार गर्दछन्, उनीहरूले रावणको बुख्याँचा दहन गर्दछन् । दशैँको अवसरमा रामलीला आयोजन गर्दछन् । उनीहरूले रामले घटस्थापनादेखि दशमीसम्मको नवौँ दिनसम्म उपवास बसेर दशौँ दिनमा रावणमाथि विजय गरेको विश्वास गर्दछन् । त्यस कारण यो दश दिनको अवधिमा उनीहरू वली दिदैनन् । तर यस मतमा कति सत्यता छ ? त्यो छलफलको विषय हो । यदि रावणको लङ्का वर्तमान श्रीलङ्का नै हो भने अयोध्याबाट उपवासको अवधिमा नौ दिनको यात्रा गरी, त्यस क्रममा समुद्री सीमा पार गरी श्रीलङ्कासम्म पुग्न कति सम्भव छ ? यसबारेमा छलफल गर्न सकिन्छ । जे होस्, रामको नौ दिनसम्मको उपवास र दशौँ दिन रावणमाथि विजयको मान्यता राख्दै नेपालको दक्षिण भागमा, भारतको उत्तर, पश्चिम तथा मध्य–पश्चिम भारतमा दशैँलाई “दशहरा” को रूपमा मनाइन्छ । यस मान्यतायुक्त दशैँको मुख्य विशेषता वलीको अस्वीकृति, रावण दहन तथा रामलीला हो ।
अर्को मत भगवति र महिषासुर राक्षसको युद्धसित सम्बन्धित छ । हिन्दू मिथक अनुसार स्वर्गका राजा ईन्द्र र राक्षस वीर महिषासुरको बीचमा चलेको युद्धमा ईन्द्र र देवताहरूको हार भयो । महिषासुरले पुरुषको हातबाट नमर्ने वरदान पाएका थिए । त्यसैले उनीहरूले सर्वशक्तिमान माता भगवतिको सृजना गरे । तिनै भगवतिको हातबाट महिषासुर राक्षसको वध गरियो । यसै खुशीमा नौ दिनसम्म पूजा गर्ने, त्यस क्रममा भवगति मातालाई खुशी पार्न वली दिने र भगवतिको प्रसादको रूपमा टीका लगाउने गरियो ।
त्यसैगरी, तिहारको प्रसङ्गमा अन्य विभिन्न किंवदन्तीहरू पनि पाइन्छन् । भगवान श्रीरामले अयोध्या आउँदा विजयोत्सवस्वरूप द्वीप प्रज्ज्वलनको कथा खास गरी भारतमा प्रचलित छ । उनीहरूले पशुपङ्क्षी सम्मानका कर्मप्रति त्यति रुचि देखाउँदैनन् । उता, तिहारको सवालमा सूर्यपुत्र यमराजको प्रसङ्ग छ । यमराजले बहिनी यमुनाको निमन्त्रण स्वीकार गरी पाँच दिनसम्म बसेको र यमुनाकै आग्रहमा प्रत्येक वर्ष सोही दिन बहिनीको हातबाट टीका लगाउने वाचा गरेको किंवदन्ती पनि छ । 
त्यस्तै, नेपाल र भारतका पहाडी क्षेत्रमा वली राजाको प्रसङ्ग छ । वली राजा पृथ्वीको सबैभन्दा दानी राजा मानिन्थे । वलीको दानबाट स्वर्गलोक हल्लिन थाल्यो । त्यसपछि भगवान विष्णु होचोपुड्को मानिसको रूप लिएर वली राजाकहाँ पुगे । त्यहाँ पुगेर वली राजासित उनले तीन पाइला जमिन मागे । वली राजाले जमिन दिने स्वीकृतिका साथै उक्त होचोपुड्को मानिसको रूप विराट भयो । उसको पहिलो पाइलाले सम्पूर्ण पुरै पृथ्वी ढाकियो भने दोस्रो पाइलाले आकाश । तेस्रो पाइलाको स्थानमा वली राजाले आफ्नै थाप्लो (निधार) अगाडि सारी दिए । होचोपुड्को मानिसरूपी विष्णुको तेस्रो पाइलाले वली राजा भासिएर पातालमा पुगे । त्यति बेला वली राजाले विष्णुसित अनुरोध गरे– उनलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अवसर दिइयोस् । विष्णुले वली राजाको अनुरोध स्वीकार गरे । त्यसपछि प्रत्येक वर्षको तिहारमा वली राजा पृथ्वी घुम्न आउँछन् भनेर उनको स्वागतमा बत्ति बाल्न थालियो । यस मौकामा एउटा टोली वली राजा आफू आउन नभ्याएकाले आफूलाई पठाएको भन्दै ‘वली गीत’ गाउन थाले ।पछि त्यही ‘वली गीत’ ‘बली गीत’ हुँदै भैलो बन्न पुग्यो । आज पनि भैलो खेल्नेहरू भट्याउँदा वली राजाको प्रसङ्ग उठाउँछन् नै ।
यस्तै खालको किंवदन्ती गोबद्र्धन पूजासित पनि जोडिएको छ । किंवदन्ती अनुसार गोकुल नजिकैका गोपालहरूले भगवान ईन्द्रको पूजा गर्दथे । एक दिन श्रीकृष्णले बिनासित्ति ईन्द्रको पूजा गर्नुभन्दा खनिज, घास–दाउरा, पानी आदि दिने गोबद्र्धन पर्वतको पूजा गर्न उचित हुने बताउँछन् । त्यसपछि गोपालहरूले गोबद्र्धन पर्वतको पूजा गर्न थाल्दछन् । यो घटनाबाट रिसाएका ईन्द्रले तत्कालै घनघोर वर्षा गराई दिन्छन् । यसरी घनघोर पानी र असिना परेर अत्तालिएका गोपालहरूलाई श्रीकृष्णले त्यही गोबद्र्धन पर्वतलाई उठाएर सुरक्षा दिन्छन् । त्यसपछि आफ्नो गल्तीका लागि श्रीकृष्ण समक्ष ईन्द्रले माफी माग्दछन् । त्यसपछि गोबद्र्धन पूजा गर्न सुरु गरियो ।
तर ‘गोबद्र्धन’ शब्दले पशु (गोरु)तर्फ पनि इङ्गित गर्दछ । त्यस कारण यो विशुद्ध पर्वतकोभन्दा पनि पशुको पूजा पनि हो कि भनी तर्क गर्ने ठाउँ भने छँदै छ ।
४. प्रकृति पूजाको अवशेष
दशैँ–तिहारको उद्भवका पछाडि जुन खालका किंवदन्तीहरू यतिखेरसम्म पनि चलाइएका छन्, त्यसलाई आधार मान्दा यी चाडपर्वको सुरुवात प्रकृति पूजाकै कारण भएको मान्न सकिन्छ । ईन्द्र कृषि युगका देवता मानिन्छन् भने श्रीकृष्ण पशुपालन युगका । यी चाडपर्वमा ईन्द्र र श्रीकृष्णको प्रसङ्ग आएको छ । राम सामन्ती युगका लोकप्रिय राजा मानिन्छन् । उनको युग पनि कृषि या पशुपालनभन्दा पछिको मान्न सकिन्छ । तर राम उनी कबिलाकै प्रमुख थिए । यस आधारमा दशैँ–तिहारमा कृषि र पशुपालन युगका प्रशस्त प्रतिबिम्बहरू फैलिएका छन् । जुन वस्तु वा परिघटनाले तत्कालीन मानव जातिको भलाइ गर्दथ्यो, त्यसप्रति नतमस्तक हुने वा त्यसलाई देवता मानी पूजा गर्नु मानवको सामान्य स्वभाव नै हो । यो प्रवृत्ति एक वा अर्को प्रकारले अहिलेसम्म पनि चली आएको छ ।
कृषिका लागि सघाउने पशु, जमिन जोत्न प्रयोग हुने हलोलाई त्यतिखेर पूजा गरिन्थ्यो । गाईगोरु, घोडा, काग, कुकुर कृषिका लागि मात्र होइन, युद्धका लागि पनि त्यत्तिकै काम लाग्दथे । त्यस क्रममा हतियार पूजा गर्ने प्रचलन पनि सँगसँगै चलेको थियो । त्यसैले दशैँ–तिहारमा कृषि र युद्धजन्य सामग्रीको पूजामा प्रशस्त ध्यान दिएको पाइन्छ । आजभोलि युद्ध कहिलेकाहीँ, कुनै खास ठाउँमा, कुनै खास स्वार्थमा र कुनै खास निकायद्वारा मात्र लडिने भएकाले युद्धसम्बन्धी प्रकृति पूजामा धेरै नै कमी आएको छ । जुन ठाउँमा कृषिको पुँजीवादी विकास भएको छ, ती ठाउँमा पनि कृषिसम्बन्धी प्रकृति पूजा कमै हुन्छन् । तर जुन ठाउँमा अझै पनि कृषि तथा पशुपालन पेसा पिछडिएको छ, त्यहाँ अझै पनि प्रकृति पूजाको अस्तित्व छ नै । नेपाल जस्तो कृषि तथा पशुपालन क्षेत्र पिछडिएको अवस्थाान रहेको देशमा त प्रकृति पूजामा जाति, कुल, निश्चित भौगोलिक क्षेत्रैपिच्छे व्यापक विभिन्नताहरू पाइने नै भयो ।
ती विभिन्नतामध्ये हिन्दू धार्मिक संस्कारबाट रङ्गिन बनेको चाडपर्व दशैँ–तिहार हो । नेपालमा अन्य चाडपर्वभन्दा दशैँ–तिहारमा धुमधाम गरिनुका पछाडि यिनै पृष्ठभूमिले काम गरेका छन् । यी चाडपर्वलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूप दिन नेपाल–भारतका हिन्दू मनोवृत्तियुक्त शासकको महत्वपूर्ण भूमिका त छ नै । (क्रमशः)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
नेपालको विद्यमान आर्थिक अवस्था र सङ्घीयता
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal